सरकारविरुद्ध घेराबन्दी भयो,बदनाम गर्न खोजियो : प्रधानमन्त्री दाहाल

काठमाडौं,मंसिर २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकारले राम्रो काम गर्दा गर्दै पनि चौतर्फी घेराबन्दी सहनु परेको गुनासो गरेका छन् ।

सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध श्रखलावद्ध आक्रमण भएको बताए ।

‘सरकारविरुद्ध अर्को ठाउँबाट प्रहार हुँदैछ’,उनले भने,‘सरकारका राम्रा काम लुकाएर बदनाम गर्न खोजिँदैछ,आक्रमण गरिँदैछ ।’नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

सरकारको काम केही समुहलाई मन नपरेकोले षड्यन्त्र भइरहेको उनको दाबी छ ।

‘नोकरशाही र दलालहरूलाई यी कुरा मन परेका छैनन् । हाम्रो लडाइँ टुंगिएको छैन’,उनले भने, ‘हामी सुधारको प्रयासमा छौँ। लोकतन्त्र र अहिलेको व्यवस्था बलियो बनाएर प्रतिक्रियावादीहरूलाई टाउको उठाउन दिँदैनौँ ।’प्रधानमन्त्रीले भने ।

सरकारको प्रयासकै कारण अर्थतन्त्र सुधार हुन थालेको उनको भनाई छ । सरकारले राम्रो काम गरिरहेकाले डराउनु पर्ने अवस्था नरहेको उनको भनाई छ ।

‘जतिसुकै घेराबन्दी भए पनि राष्ट्र र जनताप्रति इमान्दार हुँदा कसैको केही लाग्ने रहेनछ । अब विकास निर्माणका काममा पनि परिणाम देखिँदै जान्छ । सरकारको तर्फबाट हुन सक्ने र गर्न सक्ने काम गरिँदैछ,गर्दै जान्छौँ ।’