काठमाडौैं, असोज २० । लेखक तथा पत्रकार सुशील दर्नालको ‘माया पनि बिटुलो’ नामक पुस्तक विमोचन गरिएको छ। राष्ट्रिय समाचार समितिमा कार्यरत (राससकर्मी) दर्नालले लेखेको सो पुस्तक शुक्रबार सभामुख देवराज घिमिरेले विमोचन गरेका हुन्।
पुस्तकले दलित समुदायको उत्पत्ति, इतिहास, सो समुदायको पुर्ख्याैली पेसा र समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुतको समस्या बारे वृहत उठान गरिएकाे छ ।
त्यस्तै दलित समुदायको आर्थिक, राजनीतिक समस्या, दलित र गैरदलितबिच हुने अन्तरजातीय विवाह, अन्तरजातीय प्रेम सम्बन्ध र जातीय कारणले प्रेम सम्बन्ध वा विवाहमा आउने समस्या बारे पनि चर्चा गरिएकाे छ ।
यस्तै, दलित समुदायभित्र पनि गन्धर्व समुदायको अवस्था, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को कार्यान्वयनको अवस्था, दलित समुदायले पाउँदै आएको आरक्षण, अन्तरजातीय प्रेम सम्बन्ध र जातीयताकै कारण सफल हुन नसकेको प्रेम कथा, सार्क मुलुकमा दलित समुदायभित्र पनि दलित महिलाले भोग्नुपरेको समस्या, अछुत भएर बाँच्नुपर्ने दलित समुदायको पिडा, बादी महिला र उनीहरूको संघर्षको कथा–व्यथालाई पुस्तकमा समावेश गरिएको छ।
पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा ‘गोल्ड मेडल’ प्राप्त गरेका पत्रकार दर्नालको ‘माया पनि बिटुलो’ दोस्रो पुस्तक हो। उनकाे यसअघि ‘राससमा दलित समुदायको प्रतिनिधित्व र विषयवस्तु’ नामक अनुसन्धानमूलक पुस्तक प्रकाशन भइसकेको छ।


















