बारामा नाकाबाट खुलेआम तस्करी

बारा, कार्तिक ५ गते । चाडपर्वको समयमा बारा जिल्लाको विभिन्न नाकाबाट व्यापक रुपमा तस्करी सुरु भएको छ ।

बारा जिल्लामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा दैनिक लाखौँको अवैध सामानहरू भन्सार छलेर तस्करहरूले बारा नाकाहरूबाट नेपाल भित्र्याउने गरेका हुन् ।

बारा जिल्लाको नेपाल भारतको सीमामा पर्ने मटिअर्वा, देवापुर लगायतका नाकाहरूबाट अवैध रुपमा लत्ताकपडा, काजु, कस्मेटिक सामान, चिनी, सुर्ती, रजनीगन्धा, पान परागलगायतका सामानहरू तस्करहरूले भारतबाट भन्सार छलेर नेपाल भित्र्याई रहेका छन् ।

तस्करहरूले अहिले बाराका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठुलो रकम दिएर खुल्लम खुल्ला रुपमा तस्करी सुरु गरेको बाराका स्थानीयहरू बताउँछन् ।

बाराबाट ठूलोमात्रामा तस्करी सञ्चालन भए पनि नेपाल प्रहरीका प्रदेश नम्बर २ का डीआईजी र सशस्त्र प्रहरीका प्रदेश नम्बर २ का डीआईजीले यसलाई नियन्त्रण गर्न नसक्नुले पनि मिलेमतो हुने सक्ने स्थानीयवासी बताउँछन् ।

तस्करीको सेटिङ भने वरिष्ठ सई विनोद काफ्ले, घुमुवा वरिष्ठ हवल्दार विनोद शाह तेली, सिपाही आनन्द दास र सिपाही विजय यादवले गर्दै आएका छन् । यी सबै घुमुवाहरुलाई बारा जिल्लाका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले परिचालन गर्दै आएका छन् ।