काठमाडौँ । विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध हुन पुगेको हो ।
राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प रहेकाले सेवाग्राही मर्कामा परेका छन्।
यसबाट नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सबै कार्य अवरुद्ध रहेको जनाइएको छ । दुई दिनदेखि सेवाग्राहीले अनलाइनमार्फत आफैँले भर्न सक्ने सेवासमेत अवरुद्ध भएकाले सेवाग्राही पनि तनावमा परेका छन् ।
सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवामार्फत राहदानी पाउने सुविधासमेत नपाउँदा धेरै नागरिकको विदेशयात्रा पनि प्रभावित बनेको गुनासो सेवाग्राहीले गरेका छन्। विभागले राहदानीको तथ्याङ्क व्यवस्थापनमा समस्या देखा परेकाले सेवा प्रभावित बनेको जनाएको छ । गोरखापत्रबाट


















