पश्चिम नेपालमा भूकम्पको चेतावनी

काठमाडौँ । शनिबार बिहानै पनि बाजुराको जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युटको भूकम्प गयो ।

त्यसको परकम्प आउने क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए ।

परकम्पका रूपमा अझै ४ म्याग्नेच्युटको भूकम्प जाने सम्भावना रहेको उनले बताए । अहिलेसम्म १ देखि ३ म्याग्नेच्युटसम्मको करिब छ वटा जति परकम्प गइसकेको छ ।

नेपालको गोरखादेखि पश्चिमको भू–भागमा ८ म्याग्नेच्युटभन्दा माथिको ठुलो भूकम्प जान सक्ने शक्ति थुप्रिएको छ । तर पूर्वसतर्कता कमजोर हुँदा जनधनको जोखिम बढ्दै गएको भूकम्पविद्हरूले औँल्याए ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्नेच्युटको ठुलो भूकम्प गएपछि मध्य क्षेत्रमा शक्ति केही मत्थर अवस्थामा छ । नेपालको पूर्वतर्फ पनि ठुलो भूकम्पको खतरा उत्तिकै छ ।

पूर्वभन्दा बढी उच्च जोखिममा रहेको पश्चिमी भू–भागमा विगत केही वर्षयता साना तथा मझौला भूकम्पले निरन्तर धक्का दिइरहेको छ ।

गत वर्ष जाजरकोटमा गएको ६.४ म्याग्नेच्युटको मझौला भूकम्पले ठुलो जनधनको क्षति गरायो । त्यसअघि र पछि पनि बझाङ, बाजुरा, डोटीलगायतका स्थानमा बारम्बार भूकम्प जाने र जनधनको क्षति गराउने गरिरहेको छ । गोरखापत्रबाट