काठमाडौँ । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो ।
जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई सोमबार बिहान हृदयघात भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो ।
तर, त्यहीँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । सुनिता मानव बेचबिखन विरुद्धको कार्यमा सक्रिय रहँदै आएकी थिइन् ।
मानव बेचबिखन विरुद्धकी अभियन्ता उनी सुनिता फाउन्डेसनको संस्थापक समेत हुन् ।
१४ वर्षको उमेरमा बेचिएकी उनी मुम्बईबाट उद्धार भएसंगै मानव बेचबिखन विरुद्ध अभियानमा अहोरात्र कृयाशील थिईन। उनको पुस्तक ‘आँशुको शक्ति’ लाई सन् २०१५मा एशियन ह्युमन राईट्स अवार्ड प्रदान गरिएको थियो।
शक्ति समुहकी अध्यक्ष उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) को सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।


















