गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । दलितका लागि दलित अभियानका खगेन्द्र सुनारले गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेका छन् ।

दलितमाथिको अन्यायको आवाज उठाउँदै आएका सुनारले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

गृहमन्त्री लेखकै निर्देशनमा अन्तर्जातीय प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले पटक पटक पक्राउ गरी थुनामा राखेको समाचार सार्वजनिक भएको विषयलाई लिएर दलितका लागि दलित अभियान आन्दोलित र आक्रोशित भएको हो ।

माइतीघर मण्डलामा सत्येन्द्रकुमार राममाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्व विरोध प्रदर्शन गर्दै अभियानले ‘दलित हिंसा गर्ने गृहमन्त्री राजीनामा दे, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर, जातीय हिंसा गर्ने गृहमन्त्री मुर्दावादु जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए. शरीरभरी हतकडी र नेल सहित प्रदर्शनमा उत्रेका सुनार आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।

अभियान्ताहरुले अब कांग्रेस पार्टी कार्यालय, दलित आयोगमा धर्ना दिने जानकारी गराएका छन् ।

अन्तर्जातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यातना दिइएको आरोप लगाइएको छ । तर, गृहमन्त्री लेखकले भने त्यसमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।