शिक्षकका मागप्रति सरकार लचक, मन्त्रालयले गर्न सक्ने निर्णय तयारीमा

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार लचक देखिएको छ । शिक्षक महासंघ र सरकारबीच बिहीबार र शुक्रबार भएका वार्तामा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार शिक्षा मन्त्रालयले हालैसम्म गर्न सक्ने काम नगरेको गुनासो उठाइएको छ । मन्त्रालयका अधिकारीले सेवा सुविधा, तलब भत्ता र ग्रेडबारे संवाद भइरहेको र बजेट तर्जुमासँगै प्रक्रिया अघि बढिरहेको बताएका छन् ।
पराजुलीले मन्त्रालयले गर्न सक्ने काम पूरा गरे बाँकी ऐन निर्माणका लागि मात्र दबाब दिने जनाइन् । संसदको प्रक्रिया शुरु भए आन्दोलन रोक्न सकिने उनले बताइन्। तर ऐन जारी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै उनले अर्को वार्ता तय नभएको जानकारी दिइन् ।शिक्षकहरूले २० चैतदेखि सडक आन्दोलन जारी राखिरहेका छन् ।