काठमाडौं । हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयले देशभरका मातहत युनिटहरूलाई प्रहरी कर्मचारीको राजीनामा अति आवश्यक नभएसम्म स्वीकृत नगर्न निर्देशन दिएको छ ।प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यको हस्ताक्षर रहेको सर्कुलरमा भनिएको छ, “हालको परिस्थिति र आन्दोलनको पृष्ठभूमिमा अर्को आदेश नभएसम्म कुनै पनि प्रहरी कर्मचारीको राजीनामा सिफारिस वा स्वीकृत नगर्न अनुरोध गरिन्छ।”
हालै प्रहरी विधेयकसम्बन्धी चर्चा तथा औषधि उपचार खर्च कटौती हुने हल्लासँगै प्रहरी कर्मचारीहरूमा असन्तोष बढेको बताइएको छ । यही कारण केही युनिटहरूमा राजीनामाको लहर चलेको जानकारी आएको हो । यद्यपि, प्रस्तावित विधेयकले हालको सुविधा कटौती नगरेको अधिकारीहरूले स्पष्ट पारेका छन् ।प्रचलित कानुनी व्यवस्था अनुसार, जुनियर प्रहरी कर्मचारीको राजीनामा सम्बन्धित युनिट प्रमुखले स्वीकृत गरेर प्रधान कार्यालयमा जानकारी गराउने व्यवस्था छ । तर, हाल जारी सर्कुलरले त्यो प्रक्रिया तत्कालका लागि रोकिएको छ ।