काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले रुवाण्डालाई हराएको छ। रुवाण्डास्थित गहन्गा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि ३८ रनको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। यसक्रममा कप्तान इन्दु वर्माले सर्वाधिक ३३ रन बनाउँदा कविता कुँवरले २४ तथा रचना चौधरीले ११ रनको योगदान दिए। बलिङमा रुवाण्डाका हेन्रिएट इशिम्वेले सर्वाधिक ३ विकेट लिँदा मारी बिमेन्यिमानाले २ तथा बेलिस मुरेकातेते र रोजिन इरेरा १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली १७.४ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो। यसक्रममा मारी बिमेन्यिमानाले १९ तथा जियोभानिस उवासेले १२ रन बनाए। बलिङमा नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक ३ विकेट लिँदा कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान २ विकेट लिए।
पाँच टोली सहभागी लिगमा नेपालले छ खेल खेल्दा रुवान्डालाई दुई पटक र इटलीलाई एकपटक हराउँदा अमेरिकासँग दुई पटक र भानुआतुसँग एकपटक पराजित भएको छ।

















