सुरु भयो कर्मचारीलाई १५ दिनमा तलब दिने व्यवस्था

काठमाडौ -सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ ।  पाइलट परियोजनाको रूपमा उक्त कार्य बुधबार देखि कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ। 

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे। 

१५ दिनमा तलब दिँदा बजार चलायमान हुन्छ । उपभोग र माग दुवै बढ्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘यो पाइलट परियोजनाको रूपमा सङ्घीय निजामती कर्मचारीमा लागू गरिएको हो । बिस्तारै सरकारी वेतनधारी सबैले यो सुविधा पाउनुहुन्छ ।’ 

उनले मन्त्रालयले निर्णय गरेको ११ दिनमै प्राविधिक तयारी पूरा गरेर १५ दिनमै तलब दिन मेहनत गरेको भन्दै महालेखा नियन्त्रक कार्यालयलाई धन्यवाद दिए । 

महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री  वाग्लेले १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका हुन्।

अर्थमन्त्रीको सो आदेशसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक (१५ दिन) तलब प्राप्त गरेका छन् ।  १५ दिनमै तलब भुक्तानी कार्यको शुभारम्भ गदै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थतन्त्र चलायमान बनाउन सरकारले यस्तो निर्णय गरेको बताए।