अप्रिलमा नेपालमा १ लाख ७ हजार पर्यटक भित्रिए, सबैभन्दा धेरै भारतबाट

सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा कम देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त महिनामा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा गिरावट हो ।

तथ्यांक हेर्दा सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४ सय ९० पर्यटक आएका थिए भने महामारी अघि सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ पर्यटक आगमन भएको थियो । यसले पुनरुत्थानको क्रममा रहेको पर्यटन क्षेत्र अझै पूर्ण रूपमा स्थिर हुन नसकेको संकेत गर्छ ।

क्षेत्रगत रूपमा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा धेरै ३३ हजार ४३२ पर्यटक (३१ प्रतिशत) आएका छन् । त्यसपछि अन्य एसियाली मुलुकबाट २६ हजार ७ सय २६, युरोपबाट २१ हजार ९ सय ८८, ओसिनियाबाट ५ हजार ८ सय ९८, अमेरिकाबाट २ हजार ५ सय १८, पश्चिम एसियाबाट १ हजार ६ सय ९७, अफ्रिकाबाट ३ सय १५ र अन्य मुलुकबाट १५ हजार ३ सय ६० पर्यटक आएका छन् ।

देशगत रूपमा भारत पहिलो स्रोत बजार रहँदा चीन दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन् । भारतबाट १५ हजार १ सय ९६, चीनबाट ११ हजार ७ सय २२ र बंगलादेशबाट ५ हजार २ सय ३१ पर्यटक नेपाल आएका छन् ।

विशेषज्ञहरूका अनुसार पछिल्लो समय पश्चिम एसियामा बढ्दो भू-राजनीतिक तनाव, हवाई उडानमा आएको अवरोध तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा कमीका कारण पर्यटक आगमनमा प्रभाव परेको देखिन्छ ।

पर्यटन क्षेत्रलाई पुनः गति दिन डिजिटल मार्केटिङ सुदृढ गर्ने, अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्द्धन गर्ने र नेपाललाई सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने रणनीति आवश्यक देखिएको छ ।