सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार साँझ आयोजित समारोहमा शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
४ असार २०२७ मा वीरगन्जमा जन्मिएका मनोजकुमार शर्माले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुने विश्वविद्यालयबाट व्यापार तथा संवैधानिक कानुनमा एलएलएम गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालको श्रम कानुनको सन्दर्भमा संगठन स्वतन्त्रता’ मा विद्यावारिधि पनि प्राप्त गरेका छन् ।
उनी पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् । २०५१ मा अधिवक्ताको लाइसेन्स लिएका मनोजकुमार शर्माले वकालत गर्दा विभिन्न कम्पनी तथा संस्थालाई कानुनी परामर्श पनि प्रदान गरेका थिए । शर्माले २०६० देखि २०६५ सम्म बीबीएस तहका विद्यार्थीलाई कानुन विषयमा अध्यापन गरेका थिए ।
शर्मालाई मंगलबार नै राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । यसअघि मंगलबार नै संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वसम्मतिले प्रधान्यायाधीशमा अनुमोदन गरेको थियो ।
शर्माले संसदीय सुनुवाइ समितिमा न्यायिक सुधारसम्बन्धी आफ्नो कार्ययोजना पेस गरेका थिए । साथै सांसदहरूले सोधेका प्रश्नहरूको पनि जवाफ दिएका थिए । सुनुवाइका क्रममा सांसदहरूले दरपीठविरुद्धको निवेदन दर्ता नगर्न दबाब दिएको, अदालतमा ग्रुपिज्म रहेको र एनसेलको कर विवादलगायतका मुद्दामा गरेका फैसलाबारे पनि सवाल उठाएका थिए ।
संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
















