सरकारले प्रस्तुत गरेको बजेटमा गण्डकीलाई ऊर्जा उत्पादनमा बढी जोड

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटले गण्डकी प्रदेश खासै उत्साही छैन । जलविद्युत् र केही पर्यटनमा प्राथमिकता दिइए पनि अरु क्षेत्र छुटाइएको छ।

सरकारले प्रस्तुत गरेको बजेटमा सरकारले गण्डकीलाई ऊर्जा उत्पादनमा बढी जोड दिएको छ । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई अधिकारसम्पन्न प्राधिकरण मोडलमा अघि बढाउने घोषणा सरकारले गरेको छ । यसबाहेक तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी र उत्तरगंगा जस्ता आयोजनालाई तीव्रता दिने बजेटमा उल्लेख छ ।

सडक सञ्जालमा निर्माणाधीन पृथ्वी राजमार्गको स्तरोन्नति सक्ने लक्ष्य लिएको छ । आँबुखैरेनीदेखि पोखरासम्मको खण्डमा काम अन्तिम चरणमा पुगिसकेको छ । मुग्लिनदेखि आँबुखैरेनीसम्मको सडक खण्ड निर्माण सुरु गर्ने सरकारको घोषणा छ ।

सरकारले आगामी आवका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको हो । शुक्रबार संघीय संंसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव ८ प्रतिशत बजेट विनियोजन भएको बताए । पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २० दशमलव ३ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् कुल विनियोजनको १९ दशमलव ९ प्रतिशत छ ।

यसैगरी, सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रूतमार्गका रूपमा विकास गर्ने अर्थमन्त्री डा. वाग्लेले बताए । यद्यपि, रकम भने खुलाइएको छैन । सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रियस्तरमा रुपान्तरण सुरु गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ–उद्यम व्यवसायीकेन्द्रित ‘गण्डकी चतुर्भुज’ बनाइने बजेटमा उल्लेख छ । त्रिवेणीधाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै ‘शालिग्राम पथ’ विकास गरिने अर्थमन्त्री वाग्लेले बताए ।

पोखरामा इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण, आयुर्वेद अस्पताल सञ्चालन र सार्वजनिक यातायातमा विद्युतीय बस (इ–मोबिलिटी) सेवा सुरुवात गर्ने योजना अघि सारिएको छ ।

पर्यटनतर्फ मुस्ताङ र मनाङका २०० वर्ष पुराना ऐतिहासिक गुम्बा संरक्षण गर्ने भनिएको छ । देवघाट–मुक्तिनाथ–त्रिवेणी समेटिएको प्रादेशिक पर्यटकीय कोरिडोर र उच्च पहाडी डाँफे पदमार्ग निर्माण गर्ने लक्ष्य राखिएको छ ।

पोखरा उपत्यकामा सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न इ–मोबिलिटी सेवा छिट्टै सुरु गरिने बजेटमा उल्लेख छ ।

खप्तड–रामारोशन–बढिमालिका–बूढीनन्दा–रारा–स्वर्गद्वारी हुँदै मुक्तिनाथ जोड्ने गरी उच्च पहाडी पर्या–पर्यटन पदमार्ग ‘डाँफे रुट’को विकास गरिने भएको छ । यस्तै, अपि हिमाल, दोर्दी हिमाल, सिकलेस–कहुपुचे–मनाङ जोड्ने पदमार्ग विकास गरिने जनाइएको छ । साइकल ट्रेलका लागि कास्कीको लिपेनी–थुम्सीकोट–भाचोक–लम्तरी (प्रिन्स चाल्स रुट हुँदै करापुसम्म) र ब्यास–छाब्दी बाराही–बन्दीपुर–छिम्केश्वरी–लाब्दी–देवघाट रुट निर्माण गरिने बजेटमा उल्लेख छ ।