हेमन्त कान्छा रसाइलीसहित पाँच कलाकारको स्वरमा ‘रेलिमै’

केपि कुमार जलन

मगर समुदायको मौलिक शिरफुले भाका ‘रेलिमै’ मा आधारित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मगर समुदायको कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त भिडियो गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाइलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोट निवासी तथा अमरज्योति माध्यमिक विद्यालयमा अध्यापनरत **तुलप्रसाद पुन (नयन बाबु)**को प्रस्तुतिमा तयार भएको गीतमा निर्माता पुन र गायक रसाइलीकै शब्द तथा लय रहेको छ।

गीतमा हेमन्त कान्छा रसाइली, कृष्ण परियार, गीता पाइजा, सुमन थापा र अमृता लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ। मौलिक भाका, परम्परागत शैली र सांस्कृतिक भावनाले भरिएको गीतले मगर समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्ने प्रयास गरेको छ।

म्युजिक भिडियोको छायाङ्कन मालिका गाउँपालिका–४ अन्तर्गतका पर्यटकीय तथा रमणीय स्थल सोलेडाँडा, ओखरबोट लगायतका स्थानमा गरिएको छ। भिडियोको निर्देशन समेत गायक हेमन्त कान्छा रसाइलीले गरेका छन्।

भिडियोमा गायक रसाइली, प्रस्तुतकर्ता तुलप्रसाद पुन (नयन बाबु) तथा कलाकारहरू पविता पुन, नवीन मगर, सुष्मा बुढाथोकी र करुणा बुढा लगायतको अभिनय रहेको छ।

स्थानीय संस्कृति, परम्परा र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको ‘रेलिमै’ले मगर समुदायको सांस्कृतिक सम्पदालाई नयाँ पुस्तामाझ पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।