२० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग पराजित

फिफा विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरियाले चेकियामाथि २-१ गोलको रोमाञ्चक जित दर्ता गरेको छ। २० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग पराजित भएको हो। खेलको पहिलो हाफमा दुवै टोलीले निकै प्रतिस्पर्धा गरे पनि कुनै पनि तर्फबाट गोल हुन सकेन र पहिलो हाफ गोलरहित बराबरीमा सकियो।

दोस्रो हाफमा भने खेल निकै आक्रामक र रोमाञ्चक बन्यो। खेलको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले उत्कृष्ट हेडर मार्फत गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, चेकियाको यो अग्रता धेरै समय टिक्न सकेन। दक्षिण कोरियाका ह्वाङ इबोनले ६७ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

त्यसपछि खेलको ८० औँ मिनेटमा ओ हेन्युले दक्षिण कोरियाका लागि अर्को महत्त्वपूर्ण गोल थपे। बाँकी समयमा चेकियाले पुनरागमन गर्न नसकेपछि दक्षिण कोरियाले २-१ को जित निश्चित गर्‍यो। यस जितसँगै दक्षिण कोरियाले समूह चरणमा महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको छ।