दरबार रोधी क्लबको १८औँ वार्षिकोत्सव: प्रेमराजादेखि विश्व दोङसम्मका कलाकारले जमाए लोकसंगीतको उत्सव

केपि कुमार जलन

दरबारमार्गस्थित दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सव भव्य रूपमा मनाउँदै तीनदिने सांगीतिक उत्सव सम्पन्न गरेको छ। लोक तथा दोहोरी संगीतका चर्चित कलाकारहरूको दमदार प्रस्तुतिले रोधीघर दर्शकले खचाखच भरिएको थियो।

वार्षिकोत्सवको पहिलो दिन वरिष्ठ गायक प्रेमराजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। प्रेमराजा महतको प्रस्तुति विशेष आकर्षणको केन्द्र बनेको थियो भने अन्य कलाकारका चर्चित गीतमा दर्शकहरू नाचेका थिए।

दोस्रो दिन रामजी खाँण, प्रीति आले र शान्ति रानी परियारले लोकदोहोरीको माहोल तताएका थिए। अन्तिम दिन विश्व दोङ र टीका सानुको प्रस्तुतिले उत्सवलाई थप उल्लासमय बनाएको थियो।

सांगीतिक मनोरञ्जनसँगै दरबार रोधी क्लबले सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ। वार्षिकोत्सवको अवसरमा दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको सहयोगका लागि आर्थिक सहयोग प्रदान गरिएको र आगामी वर्षहरूमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

विगत १८ वर्षदेखि नेपाली लोकसंगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय दरबार रोधी क्लबले नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्दै आएको छ। यस वर्षको वार्षिकोत्सवले नेपाली लोकसंगीतप्रतिको दर्शकको माया अझ बलियो रहेको सन्देश दिएको आयोजकले जनाएको छ।