ईन्द्रेणी स्रष्टा सम्मानबाट सम्मानित भए गायक विष्णु खत्री

केपि कुमार जलन

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री ईन्द्रेणी कार्यक्रमद्वारा प्रदान गरिने ‘ईन्द्रेणी स्रष्टा सम्मान’ बाट सम्मानित भएका छन्। सम्मान प्राप्त गरेपछि उनले आफूलाई सम्मानका लागि छनोट गर्ने ईन्द्रेणी परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

गायक खत्रीले कार्यक्रमका सञ्चालक, दिनदुःखीका सहारा तथा लोकप्रिय गायक कृष्ण कंडेल प्रति विशेष धन्यवाद व्यक्त गर्दै ईन्द्रेणीले कलाकार र समाजलाई जोड्ने प्रेरणादायी अभियान सञ्चालन गरिरहेको बताए।

कार्यक्रममा उनले लोकप्रिय गायिका मनमाया वाईवा सँग सुमधुर दोहोरी गीत प्रस्तुत गरेका छन्। उक्त दोहोरी ईन्द्रेणीको आगामी एपिसोडमा प्रसारण हुने जनाइएको छ। त्यस्तै, वरिष्ठ कलाकार तथा मूर्धन्य व्यक्तित्व मदनकृष्ण श्रेष्ठ सँग एउटै मञ्चमा सहभागी हुने अवसरलाई उनले आफ्नो सांगीतिक जीवनको अविस्मरणीय क्षणका रूपमा लिएका छन्।

यसै अवसरमा बोनम्यारो क्यान्सरबाट पीडित बालिका आर्या गिरी को उपचारका लागि ईन्द्रेणी टिमसँगै गायक विष्णु खत्रीले पनि आर्थिक सहयोग प्रदान गरेका छन्। उनले आर्याको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मानवीय सेवामा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।

सम्मान, सांगीतिक प्रस्तुति र सामाजिक उत्तरदायित्वलाई एकैसाथ समेटेको ईन्द्रेणीको यो विशेष कार्यक्रमले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्नुका साथै गायक विष्णु खत्रीको व्यक्तित्वलाई अझ उचाइमा पुर्‍याएको छ