प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने

प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट चार महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने भएको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१/८२ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१/८२ पेस गर्नेछिन्।

त्यसैगरी, मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने तथा उक्त विधेयक सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

साथै, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिने संसद सचिवालयले जनाएकाे छ।

यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्ने तय भएको छ।