पोखरा–मुग्लिन सडक आयोजना चौथोपटक म्याद थप

पोखरा सडक आयोजना (पश्चिम खण्ड) का आयोजना प्रमुख कृष्णबहादुर कुँबरका अनुसार यसअघि थपिएको म्याद असार १५ गतेसम्म रहे पनि निर्माण पूरा हुन नसकेपछि फेरि समय थपिएको हो । उनले अब थपिएको समय अन्तिम भएको उल्लेख गर्दै तोकिएकै अवधिमा काम सम्पन्न हुने दाबी गरे।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा पाँच वर्षअघि सुरु भएको पृथ्वीराजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडक पश्चिम खण्डमा पर्छ। यस क्षेत्रमा बजारमा छ लेन र पहाडी क्षेत्रमा चार लेन सडक निर्माण भइरहेको छ । आयोजनाका अनुसार हालसम्म ८२ दशमलव ३७ प्रतिशत भौतिक प्रगति भएको छ।

वर्षाका कारण चैत–वैशाखमा काम प्रभावित हुनु, मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आउनु तथा निर्माण सामग्रीको मूल्यवृद्धिले कामको गति सुस्त बनेको आयोजनाको भनाइ छ । “अहिले थप गरिएको समय अन्तिम हो, अब पनि म्याद थप हुँदैन । धेरै काम बाँकी नभएकाले तोकिएको समयमा सम्पन्न हुन्छ । सोही अनुसार निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ”, आयोजना प्रमुख कुँबरले भने।

आयोजनाका सूचना अधिकारी अनन्त बरालका अनुसार कालोपत्रे सम्पन्न भएका क्षेत्रमा सर्भिस लेन, सडक सुरक्षा तथा मार्किङको काम तीव्र पारिएको छ भने तनहुँतर्फ अधिकांश स्थानमा ‘डब्लु बिम’ जडान सम्पन्न भइसकेको छ।

आयोजनाको पश्चिम खण्ड निर्माणका लागि चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनसँग सात अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माण सम्झौता २०७८ जेठ २ गते भएको र २०७८ भदौ १२ गतेदेखि निर्माण सुरु गरिएको थियो।

पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने मुख्य राजमार्गका रूपमा रहेको यो सडक स्तरोन्नतिले यात्रालाई थप सहज बनाएको भए पनि बारम्बार म्याद थपिँदा आयोजना सम्पन्न हुने समय भने लम्बिँदै गएको छ।

हाल करिब १० किलोमिटर सर्भिस लेन, ट्राफिक सुरक्षासम्बन्धी संरचना, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट तथा ‘डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडान बाँकी छ । पोखरा विश्वविद्यालय अगाडिको एकतर्फी कालोपत्रे र पोखरा अन्तरराष्ट्रिय विमानस्थल नजिक विद्युतका पोल स्थानान्तरण हुन बाँकी रहेकाले त्यहाँ सर्भिस लेन निर्माण प्रभावित भएको छ।