केपि कुमार जलन
बागलुङ – ताराखोला गाउँपालिका–१, तारामा आयोजना गरिएको ऐतिहासिक असारे मेला तथा प्रथम ताराखोला कप–२०८३ असार २४ गतेदेखि सुरु भई असार २९ गतेसम्म सञ्चालन हुने भएको छ। असारे सांस्कृतिक संरक्षण मञ्च (ASSM) को आयोजनामा भइरहेको मेलाले स्थानीय कला, संस्कृति, खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, मारुनी, सोरठी, सालैजो, असारे भाका, पञ्चेबाजा, झाँकी तथा विविध सांस्कृतिक कार्यक्रमका साथै प्रथम ताराखोला कप अन्तर्गत खेलकुद प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्।
असार २७ गते हुने मूल समारोहमा चर्चित कलाकार नविन राना, सुनितामी परियार तथा कोमल नेपालीको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। मूल समारोह बिहान १० बजे सुरु हुने कार्यक्रम रहेको छ।
आयोजकले ऐतिहासिक मेलालाई सफल बनाउन सम्पूर्ण स्थानीयवासी, खेलप्रेमी तथा कला–संस्कृतिप्रेमीलाई उपस्थित भई कार्यक्रमको रौनक बढाउन आग्रह गरेको छ।


















