केपि कुमार जलन
आगामी हरितालिका तिजको अवसर पारेर विशुद्ध पारिवारिक, सांस्कृतिक तथा मौलिकता बोकेको नयाँ तिज गीत ‘दिदि भाइ’ सार्वजनिक हुने भएको छ। दर्शक–श्रोताको मन जित्ने उद्देश्यका साथ तयार गरिएको यस गीतले दिदी–भाइबीचको माया, स्नेह र आत्मीय सम्बन्धलाई भावपूर्ण ढंगले प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
गीतमा कृष्ण अखेली र पूर्णकला बिसीको सुमधुर स्वर रहेको छ भने संगीत कृष्ण अखेली र शब्द शिव अखेलीले सिर्जना गरेका हुन्। गीतको भिडियो कृष्ण अखेली युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ।
गीतको प्रचार सामग्रीमा समेटिएको संवाद “के छ दिदि हालखबर, भिनाजुलाई कस्तो छ?” ले दाजु–बहिनीबीचको आत्मीयता र पारिवारिक भावनालाई झल्काउने संकेत दिएको छ। यस वर्षको तिजमा विकृतिभन्दा मौलिकता, संस्कृतिप्रतिको सम्मान र पारिवारिक सम्बन्धलाई प्राथमिकता दिँदै तयार गरिएको यो गीतले दर्शक–श्रोताको मन छुने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।
‘दिदि भाइ’ गीत सार्वजनिक हुने प्रतीक्षामा रहेका संगीतप्रेमीले यस वर्षको तिजमा मौलिक स्वाद र पारिवारिक भावनाले भरिएको नयाँ कोसेली सुन्न पाउने अपेक्षा गरिएको छ।


















