बेलायतमा पुनः सांगीतिक यात्रामा निस्किँदै गायिका रेजिना परियार

केपि कुमार जलन

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका रेजिना परियार दोस्रो पटक सांगीतिक यात्राका लागि बेलायत (यूके) प्रस्थान गर्ने भएकी छन्। आगामी ६ महिनासम्म बेलायतमा रहने उनले विभिन्न सांगीतिक कार्यक्रममार्फत त्यहाँ रहेका नेपाली समुदायसँग पुनः भेटघाट गर्ने जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै गायिका परियारले यस अवसर प्रदान गरेको कोल्चेस्टर नेपाली समाजप्रति हार्दिक आभार व्यक्त गरेकी छन्। उनले सन् २०२४ को पहिलो बेलायत भ्रमणका क्रममा यूकेमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी तथा बुवा–आमाबाट पाएको अपार माया र सम्मानलाई कहिल्यै नभुल्ने बताउँदै यसपटक पनि उस्तै स्नेह र साथ पाउने अपेक्षा व्यक्त गरेकी छन्।

रेजिना परियारले आफ्नो पहिलो बेलायत यात्रा गोर्खा समाज यूकेमार्फत सम्भव भएको स्मरण गर्दै संस्थाका निवर्तमान अध्यक्ष हेम गुरुङ, वर्तमान अध्यक्ष टक माया गुरुङ तथा सम्पूर्ण गोर्खा समाज यूके परिवारप्रति विशेष कृतज्ञता व्यक्त गरेकी छन्।
उनले विदेशमा रहे पनि आफ्नो देश, परिवार, संगीत र प्रिय दर्शक–श्रोता सधैं मनमै रहने उल्लेख गर्दै बेलायतमा रहेका नेपालीमाझ आफ्ना सांगीतिक प्रस्तुति लिएर उपस्थित हुने बताएकी छन्।