पाल्पाली ढाकालाई विश्व ब्राण्ड बनाउने अनुशेषको लक्ष्य

तानसेन नगरपालिका–४ सिल्खानटोलका ढाका उद्योगी अनुशेष रायमाझी यतिबेला पाल्पाली ढाकालाई विश्व ब्राण्ड उत्पादनको पहिचान बनाउने लक्ष्यका साथ अगाडि बढेका छन् । लामो समयदेखि पाल्पामै सीमित बन्दै आएको ढाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने गरी उनले योजनासहित काम गरिरहेका हुन् ।

पाल्पाली ढाका भन्नासाथ मौलिक पहिचान, परम्परागत बुनाइ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप हो । यही पहिचानलाई समयानुकूल बनाउँदै नयाँ पुस्ताको रोजाइमा पर्ने र विश्वबजारसम्म पुर्‍याउने अभियानमा लागेको रायमाझीले बताए । बुवा हरि रायमाझीले पाल्पामा स्थापित गरेको सरस्वती ढाका कपडा उद्योग उनले सम्हाल्दै आएका छन् ।

उक्त उद्योगलाई थप परिमार्जन गर्दै जिल्लामै सीमित पाल्पाली ढाका उद्योगलाई ब्राण्डिङ गर्दै विश्व बजारसम्म पुर्‍याउन आफू लागिपरेको अनुशेषले बताए । परम्परागत ढाकाको मौलिकता जोगाउँदै आधुनिक डिजाइन, व्यावसायिक उत्पादन र नयाँ बजार खोज्ने यात्रामा आफू अगाडि बढेको उनको भनाइ छ ।

विसं २०७८ मा तत्कालीन उद्योग मन्त्रालयबाट ‘पाल्पाली’ ब्रान्ड पाए पनि जिल्लामै सीमित बन्न पुगेको अवस्थामा रायमाझीले राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन योजनाबद्ध र निरन्तर काम गरिरहेको बताए ।