२०८३ भदौ ९, काठमाडौं ।
नेपाल चलचित्र विकास बोर्डको सभाकक्ष (सिनेमा हल)मा हिजो दुई नयाँ तीजगीतको भिडियो प्रिमियर सम्पन्न भयो। कार्यक्रममा सर्जकहरु डा. ज्ञानेन्द्र गदाल र टीका भट्टराई नेपालद्वारा रचित दुई तीजगीत सार्वजनिक गरिए।
लोकप्रिय गायिका यशोदा पराजुलीको मूल स्वर तथा झुमा निरौला र सरिता शाहीको सहगायनमा तयार भएका दुवै गीतमा गणेश पराजुलीले संगीत भर्नुभएको छ भने दुवै गीतमा संगीत संयोजन बलराम समालले गर्नुभएको हो।
साहित्यिक पत्रकार संघ तथा इलाम विकास समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी., वरिष्ठ संगीतकार बुलु मुकारुङ अभिनेता कृष्ण मल्ल तथा अभिनेत्री शर्मिला मल्लले प्रिमियर गरिएका गीतका विविध पक्षबारे आफ्ना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा डा. टीका भण्डारीले यी गीतमा निहित सांस्कृतिक पक्ष, तीजको मौलिक भाव र सामाजिक सन्देशबारे आफ्नो समीक्षा प्रस्तुत गर्नु भयो।
‘रबेल क्रिएसन’मार्फत बजारमा आएका यी गीतहरूले तीजको सांस्कृतिक परम्परा, सामाजिक चेतना र नेपाली मौलिक संगीतलाई नयाँ पुस्तासम्म पुर्याउने अपेक्षा गर्न सकिन्छ।
कार्यक्रममा स्रष्टा, सर्जक, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सिर्जना र संस्कृतिको यो सुन्दर संगम आफैंमा स्मरणीय रहेको थियो।
दुबै तीजगीतका निर्देशक समन अधिकारी रहनु भएको छ।
कार्यक्रममा वक्ताहरुले तीज गीत केवल मनोरञ्जन होइनन्-यी हाम्रा संस्कृति, परम्परा, भावना र पुस्तान्तरणका जीवन्त दस्तावेज पनि रहेको बताएका थिए।



















