केपि कुमार जलन
काठमाडौं । सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दिप गैरे र वरिष्ठ उपाध्यक्ष सुशिला कट्टेल गैरे ‘प्रेरणादायी वक्ता सम्मान’बाट सम्मानित भएका छन्।
राष्ट्रिय कला, संगीत तथा स्रष्टाको सम्मानस्वरूप आयोजित ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८२’ को विशेष समारोहमा समाजमा सकारात्मक सोच, आत्मिक जागरण, मानव सेवा तथा सामाजिक सद्भाव प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै गैरेद्वयलाई सम्मान गरिएको हो।
ब्याण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा काठमाडौंको नेपाल पुलिस क्लब, प्रदर्शनी मार्गमा आयोजित समारोहमा कला, संस्कृति तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा उनीहरूलाई सम्मान प्रदान गरिएको थियो।
सच्चाई केन्द्र नेपालले प्रेम, करुणा, आत्मशान्ति, भाइचारा तथा मानव सेवामार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यसहित विभिन्न सामाजिक तथा सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले समाजमा विद्यमान नकारात्मकता र निराशालाई चिर्दै सकारात्मक सोच तथा
सामाजिक एकताको भावना विकासमा जोड दिँदै आएको छ।
गैरेद्वयले प्राप्त गरेको सम्मानलाई सच्चाई केन्द्र नेपालले नेतृत्वको व्यक्तिगत उपलब्धिभन्दा पनि संस्थाका सम्पूर्ण सदस्य, केन्द्रीय तथा शाखा नेतृत्व, शुभेच्छुक र सच्चाई परिवारको साझा सम्मानका रूपमा लिएको जनाएको छ।
सम्मान प्राप्त गरेपछि सच्चाई केन्द्र नेपालले आगामी दिनमा पनि प्रेम, सत्य, सेवा र सामाजिक सद्भावको अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
यसै अवसरमा सच्चाई परिवारले अध्यक्ष प्रकाश दिप गैरे र वरिष्ठ उपाध्यक्ष सुशिला कट्टेल गैरेलाई सम्मानका लागि बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ।


















