सडक अवरुद्ध हुँदा काठमाडौंमा फोहोर उठाउन समस्या, घरबाहिर ननिकाल्न आग्रह

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित भएको छ ।

ल्यान्डफिल साइटमा पहिरो गएपछि फोहोर सङ्कलन तथा ढुवानी केही समयका लागि प्रभावित हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै फोहोर सङ्कलन नियमित नहुन्जेल घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर सडक वा सार्वजनिक स्थानमा नफाल्न नगरवासीलाई आग्रह गरेको हो ।

बन्चरेडाँडा नुवाकोट र धादिङ जिल्लाको सिमानामा पर्छ। बन्चरेडाँडा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिने मुख्य ल्यान्डफिल्ड साइट (डम्पिङ साइट) हो।

निरन्तरको वर्षासँगै ल्यान्डफिल साइटमा पहिरो जानुका साथै माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेको महानगरले जनाएको छ । त्यसका कारण फोहोर बोकेका सवारीसाधनलाई साइटसम्म पुग्न र फोहोर विसर्जन गर्न कठिनाइ भएको छ ।

प्राकृतिक तथा प्राविधिक समस्याका कारण नियमित फोहोर सङ्कलन तथा ढुवानी अनिश्चित समयका लागि प्रभावित हुने महानगरले स्पष्ट पारेको छ ।

महानगरले फोहोर सङ्कलन नियमित नहुन्जेल सम्भव भएसम्म घर वा परिसरभित्रै सुरक्षित रूपमा भण्डारण गर्न आग्रह गरेको छ। साथै, सड्ने (जैविक) र नसड्ने फोहोर छुट्टाछुट्टै राख्नसमेत अनुरोध गरिएको छ ।

सडक, चोक, खुला स्थान वा खोलानालामा जथाभावी फोहोर फाल्दा पानी निकास हुने ढल तथा नाला बन्द भएर बाढी र डुबानको जोखिम थप बढ्न सक्ने भन्दै महानगरले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।