नारायणगढ–पोखरा सडक खुल्यो, काठमाडौंतर्फको यात्रा अझै बन्द

काठमाडौं । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै पोखरातर्फको सवारी आवागमन खुला गरिएको छ।

चितवन प्रशासनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो हटाएपछि शुक्रबार मध्याह्नदेखि नारायणगढबाट पोखरातर्फ सवारीसाधन सञ्चालनमा आएका हुन्।

तर, नारायणगढ–काठमाडौंतर्फको यात्रा भने अझै बन्द छ। पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि मुग्लिन हुँदै काठमाडौं आउने–जाने सवारीसाधनमा रोक लगाइएको हो।

प्रहरीका अनुसार वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा मात्रै सात ठाउँमा पहिरो खसेको छ। केही स्थानको पहिरो पन्छाइसकिएको भए पनि अन्य स्थानमा हटाउने काम जारी रहेको धादिङ प्रहरीले जनाएको छ।

पहिरो हटाउने काम पूरा नभएसम्म काठमाडौं–नारायणगढतर्फको यात्रा सहज नहुने प्रहरीले जनाएको छ।

साथै वर्षा जारी रहेकाले सडकको अवस्था हेरेर यात्रा गर्न तथा सम्बन्धित निकायबाट जारी सूचनालाई ध्यान दिन प्रशासनले यात्रु तथा चालकलाई आग्रह गरेको छ।