आज नुवाकोटका बाढीपीडितलाई अस्थायी आवास हस्तान्तरण गर्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज नुवाकोटका बाढीपीडित परिवारका लागि निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण गर्दैछन् ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार नुवाकोटको पिपलटारमा निर्माण गरिएका अस्थायी आवास पीडित परिवारलाई हस्तान्तरण गर्न लागिएको हो ।

बुधबार दिउँसो १ बजे अध्यक्ष ओलीले आवास हस्तान्तरण गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिएका छन्।

एमालेको भ्रातृ संगठन जिफन्टको अगुवाइमा अस्थायी आवास निर्माणको पहिलो चरणको काम सम्पन्न भएपछि हस्तान्तरण गर्न लागिएको हो। आवास निर्माणमा एमालेका स्वयंसेवकहरू खटिएका थिए।