विश्वका १६ क्षेत्रमा भोकमरीको जोखिम बढ्ने संयुक्त राष्ट्रसंघीय निकायको चेतावनी

विश्वका विभिन्न क्षेत्रमा द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक संकट तथा मानवीय सहायता घट्दै जाँदा खाद्य असुरक्षाको अवस्था थप गम्भीर बन्न सक्ने संयुक्त राष्ट्रसंघीय निकायहरूले चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) र विश्व खाद्य कार्यक्रम (WFP) ले नोभेम्बर २७ मा सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार सन् २०२६ डिसेम्बरदेखि २०२७ मेसम्म विश्वका १६ क्षेत्रमा खाद्य असुरक्षा थप गम्भीर हुने जोखिम छ।

यसअघि जुन महिनामा सार्वजनिक प्रतिवेदनमा १३ क्षेत्रलाई भोकमरीको उच्च जोखिममा राखिएको थियो। नयाँ प्रतिवेदनमा दक्षिणी अफ्रिका, मध्य अमेरिकाको ड्राइ करिडोर, उत्तरपूर्वी युगान्डा र चाडलगायत क्षेत्र थपिएका छन्।

सुडान, दक्षिण सुडान, सोमालिया, नाइजेरियाका केही भाग र यमनलाई सबैभन्दा गम्भीर जोखिम भएका क्षेत्रका रूपमा पहिचान गरिएको छ।

प्रतिवेदनअनुसार १६ मध्ये १२ क्षेत्रमा द्वन्द्व तथा हिंसा खाद्य असुरक्षाको प्रमुख कारण बनेको छ। यसका अतिरिक्त खाद्यान्न, ऊर्जा तथा ढुवानीको बढ्दो लागत र जलवायु परिवर्तनले पनि संकट थप जटिल बनाएको छ।

विशेषगरी विकासोन्मुख तथा द्वन्द्व प्रभावित क्षेत्रमा खाद्यान्न उत्पादन, वितरण र मानवीय सहायता प्रभावित हुँदा सर्वसाधारणको जीवनयापन कठिन बन्दै गएको प्रतिवेदनमा उल्लेख छ।

FAO र WFP ले संकट गम्भीर हुनुअघि नै कृषि उत्पादन, खाद्य सहायता तथा प्रभावित समुदायको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेका छन्।

विश्वव्यापी खाद्य सुरक्षाको यो चुनौतीले भोकमरी नियन्त्रणका लागि तत्कालीन राहतसँगै दीर्घकालीन कृषि विकास र जलवायु अनुकूलनमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।