जातीय भेदभाव तथा छुवाछुत कसुरमा प्रहरीले पीडितको जाहेरी दर्ता गरेन

असार ९ :  भत्तपुर प्रहरीले जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी लिन अस्वीकार गरेको छ । छोराछोरी पढाउन गाउँदेखि काठमाडौं आएकी ओखलढुंगाकी मुना दयाल भनिने सम्झना विश्वकर्माले आफूमाथि घर भाडामा लिने क्रममा जातीय भेदभाव र अपमान भएको भन्दै प्रहरीकोमा जाहेरी लिएर पुगेपनि पीडितको जाहेरी अस्विकार भएको हो ।

भत्तपुरको चाँगुनारायण नगरपालिका–४, मूलपानीकी कविता रायमाझीको घरमा कोठा भाडामा लिएर बस्न लागेकी विश्वकर्मालाई रायमाझी परिवारले उनी दलित भएको थाहा पाएपछि घरमा डेरा बस्न नमिल्ने बताएका थिए । त्यसपछि विश्वकर्माले आफूमाथि जातीय भेदभाव र छुवाछुत कसुर भएको जाहेरी लिएर प्रहरी कार्यालय पुगेकी थिइन् । तर, प्रहरीले जाहेरी लिन नमानेको र पीडकका कुरा सुनेपछि मात्रै जाहेरी लिने भनेर फर्काएको पीडित विश्वकर्माले बताइन् ।

यता प्रहरीले भने जाहेरी दर्ताकै लागि अस्वीकार नगरेको दाबी गरेको छ । दुवै पक्षका कुरा सुनेपछि मात्रै मुद्दालाई अघि बढाउन चाहेको बताइएको छ ।