पोखरा हेम्जाको सुइँखेत फाँटका घरहरु डुबानमा, ६ सय घर प्रभावित

असार ११ : भारी वर्षाका कारण पोखरा महानगरपालिका २५- हेम्जाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पहिरोले घर क्षतिग्रस्त हुँदा र डुबानका कारण मानिसहरु विस्थापित भएका छन् । पोखरा २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले भारी वर्षाका कारण त्यस क्षेत्रका करिब ६ सय घर प्रभावित भएको बताए ।

२ डुवानमा परेको सबै घर नयाँ बस्तिका रुपमा रहेका छन् । डुवानले म्याग्दीचोकदेखि सुन्दरपुरी टोलसम्मको पूरै बस्ती जोखिममा परेको स्थानीयको भनाई छ । केही ठाउँमा खसेको पहिरोसँगै ठाडो खोलामा आएको बाढीले म्याग्दीचोकमा २ घर पूर्णरुपमा क्षति पुगेको छ ।

सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु डुबानमा परेका हुन् । घरगोठ र कृषि फर्महरु बाढीले डुबानमा परेका छन् । कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

राति ११ बजेतिर भीषण वर्षाका कारण बस्तीमा बाढी छिरेपछि स्थानीय घर छोडेर आफन्त तथा छिमेकीको सुरक्षित ठाउँमा ओत लाग्न गएका थिए ।