असार १५: देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । सातै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको झरी परिरहेको छ भने केही ठाउँमा ठूलो वर्षा भएको छ ।
वर्षाका कारण सबैभन्दा धेरै असर प्रदेश १ मा परेको छ । मोरङको गछिया खोलामा आएको बाढीले बगाउँदा सुन्दर हरैँचा ६ का ५८ वर्षका रामबहादुर विकको ज्यान गएको छ मोरङका धेरै ठाउँ डुबानमा परेको छ ।
यस्तै, झापामा पनि धेरै ठाउँ डुबानमा परेका छन् । लगातारको झरीले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।
देशका विभिन्न ठाउँमा डुबानमा परेका २ सय ८८ घरका झन्डै एक हजार नागरिकलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । लगातारको वर्षापछि जोखिममा परेका ९ सय ३४ जना व्यक्तिलाई सशस्त्र प्रहरीले हिजो उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरेको हो ।
लगातारको वर्षाले नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले कैलाली, कञ्चनपुर र आसपासका ठाउँमा ठूलो पानी परिरहेको छ । कैलालीको कान्द्रा नदी जलसतहले सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले कान्द्रा, मोहना, खुटीयालगायत नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले नदी तटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै दाङ घोराही र आसपासको क्षेत्र, बाग्लुङको गलकोट आसपासमा पनि ठूलो पानी परेको छ । त्यहाँ भारी वर्षा मापन गरिएको छ । साथै बबईसहित अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
भोलि दिउँसोसम्म झरी पर्ने सम्भावना रहेको जनाइएको छ ।

















