असार १८ : निरन्तरको वर्षाका कारण उदयपुरको गाईघाट बजार क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । बजार क्षेत्र डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य वस्तु सबै नष्ट भएका छन् ।
पचासौँ लाखभन्दा धेरैको सामान नोक्सान भएको स्थानीय व्यापारीले बताएका छन् । तर क्षतिको यकिन विवरण भने आइसकेको छैन । अहिले डुबान प्रभावित बजार क्षेत्रको अनुगमन भइरहेको बताइएको छ ।
मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका धेरैजसो उपभोग्य वस्तु नष्ट भएको स्थानीय बताउँछन् ।
यसैबीच उदयपुरको चौदण्डीगढी नगरपालिका–५ मा त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर झण्डै १० बिगाहा खेतमा बाढी पसेको छ ।


















