पहिरोका कारण रुकुम पश्चिमको एक बस्ती जोखिममा

असार २१ : निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा रहेको छ । मुसीकोट नगरपालिका ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो । सोमवार रातिदेखि आएको निरन्तर वर्षाका कारण गएको पहिरोले बस्तीका १८ घर जोखिममा परेको बताइएको छ ।

बस्तीका चार घर अति जोखिममा र १४ घर जोखिममा परेका छन् । वर्षाका कारण गएको पहिरोले यस वडामा आउजाउ गर्ने बाटो र बिजुली सेवा बन्द भएको छ ।

मुसीकोट नगरपालिकाका मेयर महेन्द्र केसीसहितको एक टोली पहिरोस्थलमा पुगेर फर्किएको छ । मेयर केसीले जोखिममा रहेको बस्तीका नागरिकलाई तत्काल सुरक्षित ठाउँमा सार्न सुझाव दिएको बताए ।