असार २६ : मुस्लिम धर्मावलम्बीले आज आइतबार बकर इद पर्व मनाउँदैछन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।
बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं दिन मनाउने गरिन्छ । आइतबार मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । नमाज पढिसकेपछि धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।
कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिव एवं विपन्न परिवारलाई, एक भाग आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले राख्ने परम्परा रहि आएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा (बकर ईद)को शुभकामना दिएका छन् ।
छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । बकर इदकै उपलक्ष्यमा आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।


















