तिलोत्तमाका एक पुरुषविरुद्ध आफ्नै पत्नीले दिइन् बलात्कारको जाहेरी

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध जबर्जस्ती करणी (बलात्कार) को जाहेरी दिएकी छन्। तिलोत्तमा नगरपालिका वडा नम्बर १७ निवासी एक पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय (बुटवल) मा मंगलबार आफ्नै पत्नीले बलात्कारको जाहेरी दिएकी हुन्।

इलाका प्रहरी कार्यालय (बुटवल) का डीएसपी ठगबहादुर केसीले एक महिलाले आफ्नै पतिविरुद्ध बलात्कारको जाहेरी दिएको जानकारी दिए।चौधरी थरकी ती महिलाले जाहेरीमा ६ महिनादेखि पतिले मादकपदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।

पतिको अत्याचारबारे सासू र ससुरालाई जानकारी गराउँदा पनि वास्ता नगरेको ती महिलाको आरोप छ। जाहेरीमा उनले सासू र ससुरालाई समेत झिकाई अनुसन्धान गर्न प्रहरीसमक्ष अनुरोध गरेकी छन्।