बेलायत पठाइदिन्छु भन्दै १५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडाैंं महानगरपालिका–२९ सामाखुसी बस्ने इलाम नगरपालिका–१ नारायणटारका ३७ वर्षीय प्रकाश राई छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रूपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले बेलायतमा मासिक ४ लाख रूपैयाँसम्म तलब हुने विश्वास दिलाई उनीहरूबाट प्रतिव्यक्ति ३ लाखका दरले १५ लाख रूपैयाँ लिई ठगी गरेका थिए ।
पीडितबाट रकम लिई सम्पर्कबिहीन भएका उनलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडाैं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडाैं पठाइएको छ ।

















