नित्य टेडिसनल टेकस प्रालि चलाउँदै आएका वसन्त महर्जनको उमेर ६५ वर्ष पुग्यो। उमेरले मात्रै डाँडा काटेको हो उनको जोस र जाँगर भने १६ वर्षे नै छ। त्यसैले त एक्लै धानिरहेका छन् नेपाली कपडाको विभिन्न सामग्री बनाउने उद्योग(कारखाना)
उनले कारखाना स्थापना गरेर स्वरोजगार बन्दै अरूलाई पनि काम दिन थालेको ४३ वर्ष भइसक्यो। उनको परिवारमा तीन छोरा छन्। दुई जना विदेश छन् एक जना नेपालमै। तर कारखानाको सबै जिम्मा वसन्तले नै हेर्दै आइरहेका छन्। सुरुमा हाते मेसिनबाट सुरु गरेको कारखाना नेपाली स्वचालित मेसिन हुँदै अहिले ईन्डियन पावरफुल मेसिनबाट उत्पादन गर्न सक्ने भएको छ।
घरेलु सक्कली सुति कपडा, ढाका कपडा, तन्ना नेपाली पोसाक, र अहिले विशेष नेपाली घरेलु कपडा सबै उत्पादन हुन्छन्। नेपाल घरेलु उद्योग महासंघ महालक्ष्मी नगर समितिका अध्यक्ष रहेका महर्जन घरेलु उद्योग महासंघले सोचेअनुरुप
काम नगरेको बताउँछन्।
उनको गुनासो छ, ‘नेपाल घरेलु उद्योग महासंघबाट घरेलु उद्योगमा आबद्ध कुनै पनि सदस्यले न कुनै किसिमको सहुलियत अनुदान पाएका छन् न कुनै सुविधा। उद्यमीहरुले ऋण पाउन पनि गारो छ जसको कारण महासंघमा आबद्ध सदस्यहरुको संख्या घटदै गएकाे छ।’
अन्य क्षेत्र जस्तै वसन्तको व्यापारमा पनि कोरोना भाइरसको संक्रमणले प्रभाव पर्यो। कोरोनाले थला पारेको कारखानालाई पुरानै अवस्थामा फर्काउन अझै समस्या भइरहेको उनी बताउँछन्। कपडा उद्योग संघबाट सरकारका मन्त्रीसँग पटकपटक समस्याबारे गुनासो, समस्या राख्दा सुनुवाइ सम्म नभएको प्रति उनको गुनासो छ। उल्टै सरकारले दिँदै आएको सुविधा पनि कटौती गरेकोमा रोष प्रकट गरे।
वसन्त आफूले गर्दै आएको व्यापारमा नाफा हुने बताउँछन्। तर उनलाई राज्यको नीति खुकुलो हुँदा समस्या झेल्नु परेको छ। भन्सार छलेर आएका सुतिका कपडाले वसन्त जस्तै कारखाना चलाउनेलाई मार परेको छ। त्यसो त राज्यले पनि प्यान र भ्याटमा दर्ता गरेर चलेका व्यवसायीलाई विभेद गरेको उनको गुनासो छ। उनका अनुसार प्यानवालाले १० प्रतिशत कर नतिरी कपडा बेच्न पाउछ भने भ्याट दर्ताले १० प्रतिशत कर तिर्नै पर्छ। उनी राज्यले व्यवसायीलाई गरेको असमानता भन्छन्।

भन्सारमा कडाइ नहुँदा नेपाली कपडा व्यवासइहरू मर्कामा परेका छन जस्ले गर्दा नाफा भन्दा पनि घाटा खाएर पनि धौ धौ व्यवसाय चलाउन बाध्य छन्। राज्यलाई व्यवसाय सञ्चालन बापत्को कर तिरे पनि राज्यले वास्ता नगरेको उनको गुनासो छ। ‘कर तिरेको छ तर नेपाल सरकारबाट केही सहुलियत सुविधा पाएको छैन’ उनी भन्छन्।
उनले यस्ता नेपाली कारखानालाई जीवित राखिराख्ने हो भने यी काम गर्नुपर्ने बताएका छन्।
१, भन्सारमा कडाइ
२, प्यान र भ्याटलाई बराबर गरिदिनु पर्यो
३, पुँजि वृद्धिको लागि नेपाल सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराइ दिन पर्यो।
१५ वर्षकै उमेरदेखि अर्काको कारखानामा ज्यालादारीमा काम गर्दै सिक्दै आज ६५ वर्ष को उमेरसम्म त्यही कामलाई निरन्तरता दिँदै आएका छन्। यो बीचमा उनले धेरै गाह्रो अवस्था पनि सामना गरे। २०३६ सालमा ठमेलमा गार्मेन्ट पसल राखे। नचले पछि उनले १० लाख रुपैयाँ डुबाए। १० लाख लगानी गरेको गार्मेन्ट १० हजार रुपैयाँमै बेचेर उनी फर्किए।
केही गर्नुपर्छ भन्ने अठोट बोकेका उनले २०५२ सालमा घरबाट निस्किएर कोही साथीसँग मिलेर काम गर्दा ३० लाख रुपैयाँ डुबाए। त्यसपछि भने उनी एक्लैले व्यापार गर्ने सोचे। उनले आफ्नै कारखाना खोल्ने निधो गरे।
हाल ४० जनालाई रोजगार दिँदै आएका उनी अझै कामदारको संख्या नपुगेको बताउँछन्। १०/१५ जना कामदार अझै उनलाई अपुग नै छ। नेपाली कपडाको प्रयोग हरेक संघ सस्थामा, हस्पिटल, स्कुललगायत कार्यलयहमा अनिवार्य गर्न सके नेपाली उद्योग फस्टाउने उनको सुझाव छ।
सरकारी कार्यलयमा पोसाकका रुपमा नेपाली कपडा प्रयोग भएमा नेपाली कपडा माग बढने नेपाली कपडा स्वदेशमा खपत हुने र व्यापार व्यवसाय फस्टाउने कुरा उनी बताउछन्। नेपाली पोसाक नेपाली कपडा भनेर विश्वमा चिनाउन सकिने उधोग कारखानालाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ।



















