२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार पुरस्कार

काठमाडौँ। कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।

बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए।

‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरुस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ”, उनले भने, ‘उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ।’

दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए।

‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, ‘यसले बालविवाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ ।”