काठमाडौं । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को हिस्सा नहुने भएका छन् । सेड्युल जुधेको कारण फिल्ममा काम गर्न असमर्थ भएको कार्कीले बताएका हुन् ।
अहिले कास्कीमा छायांकन भइरहेको ‘प्रसाद २’को कारण मुम्बई जान नसक्ने जानकारी निर्देशक सन्दीप रेड्डी भांगालाई गराएको विपिनले बताए ।
गत महिना पनि एनिमलको सुटिङका लागि मुम्बई पुगेका विपिन सुटिङ नगरिकनै नेपाल फर्किएका थिए । एनिमललाई सन् २०१९ मा रिलिज भएको कबीर सिंह फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गरिरहेका छन् ।
रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओल फिल्ममा छन् । विपिनले देओलका भाइको भूमिकामा अभिनय गर्ने बताइएको थियो ।
क्राइम थ्रिलर फिल्म एनिमलले आइतबार फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । एनिमल आगामी ११ अगस्ट २०२३ मा प्रदर्शन हुँदैछ ।



















