विभाग भन्छ– तापक्रम बढ्न सुरु भयो, जाडो घट्यो

काठमाडौं । तापक्रम बढ्नेक्रम सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अब तापक्रम क्रमशः बढ्दै जानेछ । तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २२ डिग्री सेल्सियसदेखि २४ डिग्री सेल्सियसम्म पुग्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।

“काठमाडौंमा हिजो बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस थियो । यो अब बढ्दै जानेक्रममा रहेको छ,” मौसमविद् अधिकार भन्छन्, “हिजोको भन्दा आजको तापक्रम कम भए पनि ट्रेन्ड हेर्दा अब चिसो घट्दै जाने देखिन्छ । आकाश खुला भएकाले कुनै दिन अघिल्लो दिनको तुलनामा चिसो भए पनि समग्रमा तापक्रम अब बढ्दै जाने देखिन्छ ।”

आज काठमाडौंको मौसम सफा हुने उनले जानकारी दिए । काठमाडौंमा आज वर्षा र बदलीको सम्भावना नरहेको अधिकारीको भनाइ छ ।