काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ । आयोगले घटनाको स्थलगत अनुगमनपछि अवस्था सार्वजनिक गर्दै चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन र सवारीको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको हो ।
आयोगले २७ माघमा भएको राष्ट्रपतिको सवारीका कारण घण्टौं ट्राफिक जाम भएको, सर्वसाधारणले कष्ट व्यहोर्नु परेको, एम्बुलेन्सहरु समेत ट्राफिक जाममा पर्दा बिरामीहरु समयमै अस्पताल पुग्न नसकेको, बिरामीको उपचारका लागि अस्पताल जान लागेका चिकित्सकहरुमाथि समेत सुरक्षाकर्मीबाट हातपात र दुर्व्यवहार भएको र चिकित्सकमाथि हातपात भएको घटनालाई लिएर चिकित्सकहरुले अस्पतालहरुमा उपचार सेवा बन्द गर्दा हजारौं बिरामीहरु उपचार सेवाबाट वञ्चित हुनु परेको अवस्था उजागर गरेको छ ।
‘राज्यका विशिष्ट व्यक्तिको सवारीमा उचित सुरक्षा प्रबन्ध गर्नु सुरक्षा निकायको दायित्व हो । तर विशिष्ट व्यक्तिको सुरक्षा प्रबन्ध गर्दा बिरामी, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, आम सर्वसाधारण र उनीहरुले प्राप्त गर्ने सेवाप्रवाह भने प्रभावित हुनु हुँदैन,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसले नागरिकको स्वास्थ्यसम्बन्धी हक, स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने हक र समानताको हक समेत प्रभावित हुन जान्छ ।’
आयोगले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा समयसापेक्ष परिमार्जन गरी सवारी सुरक्षालाई चुस्त बनाउन आग्रह गरेको छ ।
त्यस्तै, विशिष्ट व्यक्तिको सवारीका बेला आम सर्वसाधारणलाई पर्न सक्ने प्रभावबारे गम्भीर बन्न, घाइते चिकित्सकहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा उक्त घटनाको छानविन गरी चिकित्सकमाथि हातपात र दुर्व्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरेको छ ।


















