काठमाडौं, जेठ २२ । अभियान्ता सुमन सायामीले भूमिहिन सुकुम्बासीहरुलाई प्राथमिकतामा राख्दा स्वबासीहरु ओझेलमा परेको तर्क गरेका छन् ।
स्वबासीहरुको भूमि दर्ता रोक्का फुकुवा गराउने र लालपूर्जा दिने व्यवस्थाको माग गर्दै आज माईतीघर मण्डलामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै उनले अव्यवस्थित र भूमिहिन सुकुम्बासीहरुको लागि गठन गरिएको भूमि आयोग जस्तै स्वबासीहरुको लागि पनि लालपूर्जा दिने व्यवस्था हुनुपर्ने बताए ।
उनले भने, ‘राज्यले दमन गरेर अन्याय गरेर उत्पीडनमा पारिरहेको स्वबासीहरुको लालपूर्जा नदिएको विषयमा हामी आन्दोलित भएका हौं । अव्यवस्थित र भूमिहिन सुकुम्बासीहरुलाई जुन किसिमको भूमि आयोग बनाएर जग्गा दिन खोजिएको छ । तर स्वबासिहरुलाई लालपूर्जा नदिएको विषयमा आन्दोलन भएको हो, यसको सुनुवाई हुनुपर्छ ।’
सो कार्यक्रममा सम्बोधन गर्दै अधिवक्ता जुजकाजी महर्जनले लालपूर्जा नभएको कारण जग्गाको उपभोग र बेचबिखन जस्ता कार्यबाट वञ्चित रहनु परेको भन्दै यसको समाधानका लागि आन्दोलित भएको बताए ।
विगत लामो समयदेखि स्वबासी जग्गा दर्ता बन्द भएको भन्दै संविधानमा रहेको मौलिक हकको अधिकारबाट वञ्चित भएको टिप्पणी गरेका छन् ।


















