आज मुस्लिम समुदायले महान चाड बकर इद मनाउँदै, मस्जिदमा सामूहिकरुपमा नमाज पढिदै

काठमाडौं, असार १४ । आज मुस्लिम समुदायले आफ्नो महान चाड बकर इद धुमधामका साथ मनाउँदैछ ।

बकर इदको दिन नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्मावलम्बीको निकै ठूलो चहलपहल हुने गर्छ ।

रमजान पर्वको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामूहिकरुपमा नमाज पढ्ने चलन रहेको छ ।
नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने समेत गरिन्छ ।

यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी बलि दिने चलन छ । बकर ईद ( इद–उल–अज्हा ) को अवसरमा आज सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।