काठमाडौं, साउन १५ । नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डेले मगर समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुग्ने अभिव्यक्ति दिएको भन्दै उनी विरुद्ध कारवाहीको माग गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल मगर संघले पाण्डेले ‘मगर र तामाङ जातिमा दाजुबहिनीबीचमा विवाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अलि कट्टरवादी हुने’ भन्दै दिएको अभिव्यक्तिले सिङ्गो मगर, तामाङ लगायत आदिवासी जनजाति समुदायलाई आनुवांशिक रूपमा नै अपराधीकरण प्रवृत्तिको भनेको भन्दै उनी विरुद्ध कारवाहीको माग गरेका हुन् ।
प्राईम टेलिभिजनमा दिक्पाल कार्कीद्वारा सञ्चालित चिया गफ कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा पाण्डेले उक्त अभिव्यक्ति दिएका हुन् ।
कानून व्यवसायी पाण्डेको उक्त अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाजको धार्मिक, सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको हुँदा निजको कार्यालयमा नै पुगेर र सामाजिक सञ्जालको माध्यमबाट आत्मालोचित हुन पर्याप्त समय दिंदा समेत अटेर गरेको नेपाल मगर संघका महाचिव टेकबहादुर नामजाली मगरले बताए ।
उक्त अभिव्यक्ति तथा प्रसारण नेपालको संविधानद्वारा प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक, छुवाछुत तथा भेदभावविरुद्धको हक, संस्कृतिको हक प्रतिकूल हुनुका साथै जातीय भेदभाव तथा छुवाछुत विरुद्ध भएको नेपाल मगर संघको निष्कर्ष छ । संघले जाहेरी दरखास्त दिदाँ पनि पाण्डेलाई पक्राउ नगरेको आरोप पनि लगाएको छ ।
यसको, साथै नेपाल प्रहरीले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न आनाकानी गरी यथाशीघ्र पक्राउ नगरिए दवावका लागि जिल्ला प्रहरी परिसर काठमाडौं घेराउ, देशैभरिका जिल्ला प्रशासन कार्यालय घेराउ र माइतीघर मण्डला लगायत देशैभरि प्रदर्शन, धर्ना, प्रशासन कार्यालय घेराउ गर्ने समेत महासचिव नामजालीमगरले बताए ।


















