काठमाडौं, साउन १५ । मौलिक बजार तथा मौलिक भान्सा घरका सञ्चालक सुमन दाहालले साउन १५ गतेलाई खिर उत्सवको रुपमा सात प्रदेशको प्रतिनिधित्व हुनेगरि खिर बनाएका बताएका छन् ।
उनले मौलिक बजार तथा मौलिक भान्सा घरले खिर खाने दिनको उपलक्ष्यमा सात प्रदेशको सात प्रकारको खिर उत्पादन गरेको र यसले सात प्रदेशलाई प्रतिनिधित्व गर्ने बताए ।
उनले भने, साउन १५ गतेका खिर दिनलाई खिर उत्सवको रुपमा सात प्रकारको खिर बनाएका छौ । स्थान र भूगोलको रुपमा खाइने खिरहरुको परिकार बनाएका छौ । सात प्रदेशलाई नै प्रतिनिधित्व गर्ने हिसाबले चिनो, कागुनो, चामलको विभिन्न प्रकारहरुबाट बन्ने खिर, फापरको च्याख्लाबाट बन्ने खिर, कोदोको च्याख्लाबाट बन्ने खिर, ढकने भन्ने खिरलाई हामीले आज तयार गरेका छौ ।
यस्तै, उनले मौलिक बजार तथा मौलिक भान्सा घरले ७ सय ५३ वटा स्थानीय तहहरुको नामाकरण गरेर स्थानीय विशेषता अनुसार खाना र सामानहरुको पनि बजारीकरण गर्ने गरेको बताए ।
उनले भने, उत्पादन भएको वस्तु सिधैँ उपभोक्तासम्म पु¥याउनको लागि मौलिक बजार सञ्चालन गरिएको हो । मौलिक बजारभित्र ७ सय ५३ वटा कोठाहरु छन्, प्रत्येक स्थानीय तहको नामाकरण गरिएको छ, एक स्थानीय तह एक उत्पादन वस्तुमा काम गरिरहेका छौ । स्थानीय तहमा जे विशेष उत्पादन हुन्छ त्यही मौलिक बजार मार्फत बजारीकरण गरिरहेका छौ । यस्तै मौलिक भान्सा घर पनि छ, स्वादका लागि मात्रै होईन्, स्वास्थ्यका लागि पनि खाउ भन्ने यसको मूल उद्देश्य हो । सात विशेष परिकार बनाउँने गर्दछ । यसले चौरासी वेन्जनको पनि प्रयास गरिरहेका छौ ।


















