संघीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं, असोज १२ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्य विस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव सङ्कलन, स्थानीय सरकारसँग महासंघको कार्यक्रममा उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन गर्न जरुरी रहेको बताए ।

संविधान जारी भइसकेपछि दुई पटक निर्वाचन भइसक्दा समेत संघीय कानुन बन्न नसक्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाई छ ।

उनले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेश भइसकेको र अब चाँडै निजामती कर्मचारीसम्बन्धी विधेयक र संघीय प्रहरीसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भएको बताए ।