काेशी,असोज २० गते । गत हप्ता अविरल वर्षासँगैको आएको बाढीपहिरोले कोशी प्रदेशमा भौतिक पूर्वाधार क्षेत्रमा मात्रै ४ अर्ब ६३ करोड ५० लाख बराबरको क्षति भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको हो ।
प्रदेशका ६० वटा सडक, १५ वटा सडकपुल र १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी क्षति उदयपुर र खोटाङमा भएको पाइएको छ । उदयपुरमा ११ वटा सडकमा आंशिक क्षति भएको छ भने खोटाङमा भने २७ वटा सडकमा क्षति पुगेको छ । क्षति भएका ती संरचनाहरू तत्काल बनाउनुपर्ने खालको रहेको राईले जानकारी दिए ।
यस्तै ४१ वटा सडक, २ वटा सडकपुल र ८ वटा झोलुङ्गे पुल पूर्णरुपमा क्षतिग्रस्त बनेको मन्त्री राईले जानकारी दिए । उनले पूर्णरुपमा र आंशिक रुपमा क्षतिग्रस्त संरचनाको क्षतिको प्रारम्भिक अनुमान ४ अर्ब ६३ करोड ५० लाख रहेको जानकारी दिए ।
मर्मत तथा वैकल्पिक माध्यमबाट भएपनि सडक सुचारु गर्न प्रदेश सरकारले काम गरिरहेको मन्त्री राईले बताए ।


















