काठमाडौं, कार्तिक १४ गते । कार्तिक कृष्ण त्रयोदशीका दिन आज काग तिहार । यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर आज काग तिहार मनाइँदैछ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै शुरू गरिँदैछ ।
यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै शुरू भएको हो ।
यसैगरी लक्ष्मी स्थिर राख्न गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।
यस्तै प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो ।











